गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतको बार्षिकोत्सव सम्पन्न ।

६, २०७२ , कुश्मा ।

कुश्मा नगरपालिका ८, माझमेला अवस्थित श्री गुप्तेश्वर बहुमुखी क्याम्पसको २४  अाैं  बार्षिकोत्सव तथा २२ अाैं  साधारण सभा सप्ताहव्यापी कार्यक्रमका साथ सम्पन्न भएको छ ।

जिल्लामा सक्रिय राजनैतिक दलहरुका प्रतिनिधिहरु, छिमेकी क्याम्पसका अध्यक्ष तथा प्रतिनिधिहरु, चन्दादाता,  अभिभावक, प्राध्यापक, कर्मचारी, पत्रकार, कलाकार, विद्यार्थी,  विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको क्याम्पस संचालक समिति अध्यक्ष मथुराकुमार जोशी तथा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रमको अवसर पारेर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाइ आफ्ना पितृहरुको स्मृतिमा विभिन्न चन्दादाताहरुले स्थापना गर्नुभएको करीव १ लाख वरावरको छात्रवृत्ति समेत वितरण समेत गरिएको थियो भने प्राध्यापकहरु लीलाधर सुवेदी तथा दिपक कंडेललाइ सम्मान गरिएको थियो ।

त्यस्तै क्याम्पसका प्राध्यापकहरुद्वारा अनुसन्धानात्मक रुपमा तयार पारिएको लेखहरुको संगालो गुप्तेश्वर वाङमयको विमोचन गरिएको कार्यक्रममा कलाकारहरु राजन कार्की, रामचन्द्र शर्मा, जाैमाया हिताङ, तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विविध सांगितिक तथा कविता, गजल तथा नृत्य प्रस्तुत गरेका थिए ।

क्याम्पस तथा भुतपूर्व विद्यार्थी समाजको संयोजनमा  आयोजना गरिएका  विविध शैक्षिक, सांस्कृतिक तथा खेलकुदमा  उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार वितरण  गरिएको कार्यक्रम सहायक क्याम्पस प्रमुख दुर्गा पाण्डे पन्तले संचालन गर्नुभएको थियो भने क्याम्पस प्रमुख रामजीप्रसाद सुवेदी तथा संचालक समिति अध्यक्ष मथुराकुमार जोशीले क्याम्पसको शैक्षिक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो जसमाथि विभिन्न बक्ताहरुले समीक्षा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।